२०८१ साउन १२ गते | 27th of July 2024

शशांक कोइराला नवलपरासी पूर्वबाट सिफारिस

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २४ गते ३:२८

नवलपरासी, २४ असोज ।  नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न नवलपरासीबाट सिफारिस हुनुभएको छ । 

प्रतिनिधिसभामा उम्मेदवार बन्नका लागि महामन्त्री डा कोइरालाको नाम प्रदेश नं ४ मा पर्ने नवलपरासी पूर्व (बर्दघाट–सुस्ता) जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट सिफारिस भएको हो ।
पार्टीको प्रभावशाली नेताका रुपमा मानिनुहुने कोइरालालाई यस क्षेत्रको गौरवका रुपमा उम्मेदवारी सिफारिस गरिएको पार्टीका केन्द्रीय सदस्य एवं पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले जानकारी दिनुभयो । कोइराला २०६४ र २०७० को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित सांसदसमेत हुनुहुन्छ ।
नवलपरासीपूर्व जिल्लाअन्तर्गत क्षेत्र नं १ नेपाली काँग्रेसको देशैभरिका केही बलिया क्षेत्रमध्ये पर्ने एक क्षेत्र हो ।
डा कोइरालालाई पुनः यही क्षेत्रबाट संघीय सभाको उम्मेदवार बनाउन नाम सिफारिस भएपछि महामन्त्री सोही क्षेत्रबाट निर्वाचन लड्ने र यस क्षेत्रको चौतर्फी विकास हुनेमा कार्यकर्तामा पुनः आशा पलाएको छ । कार्यकर्तामाझ कहिल्यै नरिसाउने र बिपी पुत्र भएकै कारण डा कोइराला काँग्रेसको राजनीतिमा प्रभावशाली नेता मानिनुहुन्छ ।
यसैबीच, दुई दुई पटकसम्म गृह राज्यमन्त्री एवं हाल पार्टीका केन्द्रीय सदस्यसमेत रहनुभएका देवेन्द्रराज कँडेलको नाम प्रतिनिधि सभाको सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार बन्न यसै जिल्लाबाट सिफारिस भएको छ । कँडेलको नाम नवलपरासी पश्चिम जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ बाट सर्वसम्मत् रुपमा सिफारिस भएको हो ।
यसैगरी, प्रतिनिधी सभा सदस्यको प्रत्यक्ष तर्फका उम्मेदवार बन्नका लागि सांसद देवकरण प्रसाद कलवारको नाम नवलपरासी पश्चिम जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट सर्वसम्मत्रुपमा सिफारिस भएको हो ।
यसैगरी, प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवार बन्नका लागि पूर्व केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली, पूर्व सांसद महेन्द्रध्वज जिसी, उद्योगपति विष्णुकुमार कार्की, नेत्री ओमकला गौतमको नाम नवलपरासी पूर्व जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट सिफारिस भएको हो ।
प्रदेश नं ४ र प्रदेश नं ५ मा विभाजित दुई जिल्लामा कायम भएका नवलपरासीबाट प्रदेश सभा र प्रतिनिधि सभाका लागि प्रत्यक्ष र समानुपातिकतर्फ गरी कूल १७२ जनाको नामावली केन्द्रमा सिफारिस गरिएको नेपाली काँग्रेस नवलपरासीका उपसभापति अर्जुनकुमार पोखरेलले जानकारी दिनुभयो ।
जिल्ला टुक्रिएपछि बर्दघाट–सुस्ता पूर्व प्रदेश नं ४ (नवलपुर क्षेत्र)बाट ११८ र पश्चिमतर्फको प्रदेश नं ५ (परासी क्षेत्र) बाट ५४ जनाको नाम सिफारिस गरिएको नेपाली काँग्रेस नवलपरासीले जनाएको छ ।
पूर्व र पश्चिममा दुई–दुई गरी चार निर्वाचन क्षेत्र छन् जसमा प्रतिनिधि सभाको सदस्यका लागि प्रत्यक्षतर्फ चारवटा निर्वाचन क्षेत्र रहेका छन् भने प्रदेश सभाका लागि दुवै जिल्लामा गरी आठ निर्वाचन क्षेत्र रहेका छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *