डिभिजन दुईको शीर्ष दुई भित्र अटाउने टोलीले मार्चमा जिम्बाबेमा हुने आइसीसी एकदिवसीय विश्वकप छनोट खेल्न पाउने भएकाले नेपालले आयोजक नामिबियासँगै केन्या, यूएई, क्यानडा र ओमानसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।
नेपाली टोली सयुंक्त अरब इमिरेट (यूएई)मा तीन अभ्यास खेल खेलेर दुईमा जित र एकमा हार ब्यहोर्दै आइतबार नामिबिया पुगिसकेको छ। जहाँ दुई दिन स्थानीय वातावरणमा आफूलाई अभ्यस्त बनाइसकेपछि नेपाली टोलीले बिहीबार अफाइज पार्कमा आयोजक नामिबियाको सामना गर्नेछ।
आइसीसी विश्वकप भन्दा दुई कदम मात्रै टाढा रहेकाले आफूहरु प्रतियोगिता खेल्न उत्साही रहेको नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिकेट परिषद्(आइसीसी)लाई बताएका छन्।
कप्तान खड्काको उत्साहसँगै बिहीबार पहिलो खेलमा नेपालले आयोजक नामिबियालाई पराजित गर्न सके बाँकी प्रतियोगितामा त्यसको सकरात्मक मनोवैज्ञानिक प्रभाव पर्नेछ।
इतिहास हेर्ने हो भने एकदिवसीय अन्तराष्ट्रिय खेलमा नामिबियामाथि नेपाल हावी देखिन्छ। नेपाल र नामिबियाले हालसम्म खेलेका चार खेलमा नामिबियाले एक खेल जितेको छ। बाँकी तीन खेल नेपालले आफ्नो पक्षमा पारेको छ।
२००१ मा भएको आइसीसी ट्रफीमा नामिबियाले नेपाललाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो। जसमा नेपालले दिएको १ सय ३१ रनको लक्ष्य नामिबियाले २ विकेट गुमाउँदै पूरा गर्यो।
उक्त खेल विनोद दास, पारस लुनिया, दीपेन्द्र चौधरी, पवनकुमार अग्रवाल लगायतका खेलाडीहरुले खेलेका थिए। उक्त टोलीका लगभग सबै खेलाडी अहिले राष्ट्रिय टोलीबाट रिटायर्ड भइसकेका छन्।
त्यसपछि राष्ट्रिय टोलीमा आएका नयाँ पुस्ताका खेलाडीहरुले भने नामिबियालाई हार चखाउँदै आएका छन्।
सन् २०१५ मा नामिबियामै भएको डिभिजन दुईमा आयोजकसँग नेपालको दोस्रो भेट थियो। उक्त खेलमा नेपालले ७३ बल बाँकी हुँदा नामिबियालाई ३ विकेटले पराजित गर्यो। नामिबियाले बनाएको १ सय ४२ रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर भेटायो।
कप्तान पारस खड्काले ६४ रनको इनिङ्स खेलेपछि उनी म्यान अफ द म्याच भएका थिए। तीव्र गतिका बलरका लागि सघाउ पुर्याउने पीच भएकाले करण केसीले ३ विकेट लिएका थिए। ६.१ ओभर बलिङ गरेका करणले १ ओभर मेडन फाल्दै १२ रन मात्रै खर्चिएका थिए। तीनै करण यसपटक पनि नामिबियाको टुरमा नेपालका मुख्य खेलाडी छन्।
नामिबियासँगको बाँकी दुई भेट भने नेपालले घरेलु मैदानमा घरेलु दर्शकका बीच गरेको थियो। विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा २०१६ अप्रिलमा पहिलो खेल भएको थियो।
सन्दीप लामिछानेले राष्ट्रिय टोलीमा डेब्यू गरेको उक्त खेलमा नेपालले ५ विकेटको जित हात पारेको थियो। सन्दीपले भने एक विकेट लिएका थिए।
एकदिन विराएर भएको दोस्रो खेलमा नेपाल ३ विकेटले विजयी भयो। कप्तान पारस खड्काले उक्त खेलमा शतकिय पारी खेलेका थिए। नामिबियाले दिएको २ सय ३९ रनको लक्ष्य नेपालले १ बल बाँकी रहँदा भेटाएको थियो।
विगतको नतिजा जस्तो भएपनि डिभिजन दुईमा भने सबै टोली बराबर हैसियत भएकाले कडा प्रतिस्पर्धा हुने कप्तान खड्काको विश्वास छ। ‘सबै टोलीले एकअर्का विरुद्ध खेलिसकेका छन् र सबैलाई एकअर्काको कमजोर र बलियो पक्ष थाहा छ,’ यूएई प्रस्थान गर्नुअघि पारसले भनेका थिए, ‘एक हप्ताको खेलमा जसले आफ्नो योजना मैदानमा कार्यान्वयन गर्न सक्छ, नतिजा उसैको पक्षमा आउने हो।’
यसअघि २००३ मा एकदिवसीय विश्वकप खेलिसकेको नामिबियाले डिभिजन दुईको तयारीका लागि दक्षिण अफ्रिकाको भम्रण गरेको थियो। जहाँ उसले स्थानियत टोलीसँग तीन दिवसीय कप र एकदिवसीय सीरिज पनि खेलेको छ। अर्कातिर घरेलु मैदान भएकाले पनि नामिबियाले पहिलो खेलमा नेपाललाई कडा चुनौती दिने निश्चित देखिन्छ।