२०८१ वैशाख १६ गते | 28th of April 2024

एनआरएनएको ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान सुरु

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ १ गते १०:३४

काठमाडौं – विभिन्न मुलुकमा रहेका आप्रवासी नेपालीहरूको छाता संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान सुरु गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरका कारण हाल नेपालका अस्पतालमा अक्सिजनको अभाव भएसँगै संघले यस्तो अभियान सुरु गरेको हो । मुलुकलाई परेको संकटको घडीमा नेपालमा अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं अभियानमार्फत् आर्थिक संकलन थालेको संघका महासचिव डा. हेमराज शर्माले जानकारी दिए । संघले प्रमुख संरक्षक, संरक्षक, सल्लाहकार, पदाधिकारी, मानार्थ परिषद् सदस्य तथा अन्तर्राष्ट्रिय परिषद् सदस्य, पूर्वपदाधिकारी, राष्ट्रिय समन्वय परिषद् अध्यक्षलाई यस अभियानमा सहयोग गर्न अनुरोध गरेको जनाएको छ ।

हाल नेपालमा कोरोना भाइरसको दोस्रो लहर सुरु भए यता ओमानबाट शनिबार ५ सय ५० वटा अक्सिजन सिलिन्डर नेपाल पठाउने संघले जानकारी दिएको छ । सो सिलिन्डरका लागि लाग्ने करिब ७५ लाख रुपैयाँ खाडी तथा मध्यपूर्वमा रहेका नेपालीले जुटाउने भएका छन् । ढुवानीको व्यवस्था भने नेपाल सरकारले नै गर्ने उल्लेख गरिएको छ । त्यस्तै, चीनबाट १ करोड ३७ लाखबराबरको १ सय ७० अक्सिजन कन्सन्ट्रेटर नेपाल ल्याउने तयारी गरिएको छ । जसमध्ये चीनमा रहेका नेपालीले ७० अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्ने संघले जानकारी दिएको हो । अस्ट्रेलियामा रहेका नेपालीहरूले १ करोड रुपैयाँ तथा अमेरिकामा रहेका नेपालीहरूले ६० लाख रुपैयाँबराबर सहयोग जुटाउने अभियान सुरु गरेका छन् ।

अफ्रिकामा रहेका नेपालीहरूले १५ लाखबराबरको अक्सिजन सिलिन्डर नेपालका केही अस्पतालमा वितरण गरिसकेका छन् । अन्य विभिन्न मुलुकमा रहेका नेपालीले समेत सहयोग संकलन अभियान सुरु गरेको संघले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *