काठमाडौं- आगामी अक्टोबरमा हुने एनआरएनएको १० औं महाधिवेशनमा युवा उद्यमी रमेश काफ्लेले युरोप क्षेत्रीय युवा संयोजकमा उम्मेदवारी घोषणा गरेका छन्। विदेशमा बसोबास गर्ने दोस्रो पुस्ताका युवा नेपालीलाई उद्यमी बन्न उत्प्रेरणा दिँदै आएका काफ्ले विगत १३ वर्षदेखि डेनमार्कमा क्रियाशील छन्। उच्च शिक्षाका लागि सन् २००८ मा डेनमार्क पुगेका उनी एक दशक भन्दा बढि समय देखि गैरआवासीय नेपालीको अभियानमा सक्रिय रहेका छन ।
सामाजिक संस्थामार्फत लामो समयदेखि समाजसेवामा सक्रिय उनी देश विकाशमा युवा पुस्ताको महत्वपूर्ण योगदान रहने बताउँछन्। तनहुँमा जन्मिएका काफ्ले हाल चितवनको भरतपुरमा बसोबास गर्छन। उनले डेनमार्कबाट वाणिज्य तथा व्यापारशास्त्रमा स्नाकोत्तर गरेका छन्। काफ्ले सँग सन् २०१५–०१७ कार्यकालमा एनआरएनए डेनमार्कको सचिव पदको अनुभव रहेको छ । काफ्ले २०१९ देखि आइसीसीको सदस्य पदमा रहि काम गर्दै आइरहेका छन्। उनले नेपालमा हाइड्रोलगायत विभिन्न क्षेत्रमा लगानी गरेका छन्। ‘कनेक्टिङ युथस् विथ कज’ नाराका साथ अघि बढेका उनी युवालाई उत्प्रेरित गर्दै उनीहरूभित्र रहेको रचनात्मक सोचमार्फत समाज परिवर्तन गर्न सकिनेमा विश्वस्त देखिन्छन्। ‘एनआरएनएमा युवा सहभागिता न्यून छ। नेतृत्व तहसम्म सोच्ने वर्ग त लगभग शून्य नै छ। युवावर्गले पनि नेतृत्व लिनुपर्छ भन्ने मेरो एजेण्डा हो,’ काफ्लेले भने ।